मलेसियामा १० नेपाली पक्राउ
News, PhotoSlider, विश्व समाचार 6:46 AM
फाल्गुन १४ - मलेसियामा अबैध रुपमा बसेको आरोपमा दश जना नेपाली पक्राउ परेका छन् । नेपालीसहित अन्य विभिन्न मुलुकका गरी ८२ अवैध आप्रवासी कामदारलाई शनिबार पक्राउ गरी थुनिएको स्रोतलाई उधृत गर्दै मलेसियाली समाचार संस्था ‘बर्नामा’ले जनाएको छ ।
पक्राउ पर्ने नेपालीबारे बिस्तृत जानकारी दिइएको छैन । उनीहरुलाई ओभर स्टे, नक्कली राहदानी प्रयोग गरेको लगायत विभिन्न अभियोगमा अध्यागमनले काजाङ भन्ने ठाउँमा भएको अप्रेसनमा पक्राउ गरी हाल थुनामा राखिएको उल्लेख छ ।
मलेसियाले यहाँ अबैध रुपमा बसोबास गरिरहेका आप्रवासी कामदारलाई बैध बन्न आगामी अप्रिल १० सम्मको म्याद दिएको छ । तेश्रो पटक थपिएको यो म्याद यसअघि औंठा छापसहित भएको दर्ता प्रक्रियामा भाग लिँदा बैध भई काम गर्ने गरी दर्ता भएका अवैध आप्रवासी कामदारहरुको लागि मात्रै लागु हुन्छ । तर सो प्रक्रियामा भाग नलिएकालाई मलेसियाले हाल पक्राउ गर्न थालेको छ । सो दर्ता प्रक्रियामा घर फर्कने गरी दर्ता भएकाहरुले भने यथासक्य चाँडो स्वदेश फर्कनु पर्नेछ ।
हाल जारी बैधता कार्यक्रमसँगै यहाँ अवैध कामदारहरुमाथि धरपकड समेत हुँदै आएको छ । शनिबार भएको सो अप्रेसनमा ५ सय ६९ जनामध्ये छानवीनपछि ४७ जनालाई थुनामा राखिएको हो । थुनिएकामा नेपालीसहित ४७ जना इण्डोनेसीयाली, १९ जना बंगलादेशी, ११ म्यानमारी भारतीय २, एक पाकिस्तानी र एक नाइजेरियाली रहेको समाचारमा जनाइएको छ ।