आकाशे पुल प्रयोग नगर्ने बटुवा आज पनि कारबाहीमा पर्ने
News, राष्ट्रिय समाचार 9:37 PM
१२ फागुन, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आकाशे पुलको प्रयोग नगरी सडक पार गर्ने पैदलयात्रुलाई बिहीबारदेखि थालेको कारबाही अभियानलाई आज पनि निरन्तरता दिएको छ ।
अभियानको पहिलो दिन बिहीबार महाशाखाले आकाशे पुलको सट्टा सडकबाट बाटो क्रस गर्ने ३ सय ७५ जनाबाट प्रतिव्यक्ति ५० रुपैयाँका दरले १८ हजार ७ सय ५० रुपैयाँ जरिवाना असुल गरेको थियो । आज पनि आकाशे पुल प्रयोग नगर्नेलाई जरिवाना लिएपछि सम्भावित दुर्घटनाका सम्बन्धमा सम्झाइ-बुझाई छाडिने महाशाखाको भनाइ छ । ‘जरिवाना गरिएका व्यक्तिलाई आकाशे पुलको महत्व तथा प्रयोग नगर्दा हुनसक्ने सवारी दुर्घटनाका सम्बन्धमा जनचेतना प्रदान गरेर छाड्ने काम हुन्छ’, महाशाखाका प्रमुख गणेशराज राईले अनलाइनखबरसँग भन्नुभयो ।
महाशाखाले राजधानीका रत्नपार्क, भोटाहिटी, सुनधारालगायतका स्थानमा रहेका आकाशे पुलमा नियमविपरीत सडकबाट बाटो क्रस गर्नेलाई कारबाही गर्न दुई जर्दनभन्दा बढी ट्राफिक प्रहरी खटाइएको बताएको छ । सडक पार गर्न आकाशे पुलको प्रयोग नगर्नाले सवारी दुर्घटना बढेको निष्कर्षसहित महाशाखाले अभियान थालेको हो । पैदलयात्रुले आकाशे पुुल प्रयोग गरेको खण्डमा उपत्यकाको सवारी दुर्घटनामा ५० प्रतिशतले कमी ल्याउन सकिने महाशाखाको विश्वास छ ।