नेपाली सेनाको पृतनापति सम्मेलन आज सकिँदै
News, राष्ट्रिय समाचार 9:31 PM
१२ फागुन, काठमाडौँ । मुख्यालयले प्रधानमन्त्री डा. बाबुराम भट्टराई समक्ष बुझाएको सेना समायोजनसम्बन्धी प्रस्तावप्रति प्रतिपक्षी दलहरुबाट विरोध भइरहेका बेला सुरु भएको नेपाली सेनाका पृतनापतिहरुको दुईदिने सम्मेलन आज सकिँदैछ ।
राजधानीस्थित जंगीअड्डामा सुरु भएको सम्मेलनको पहिलो दिन प्रधानसेनापति छत्रमानसिंह गुरुङले प्रधानमन्त्रीसमक्ष पेस गर्नुभएको समायोजन प्रस्तावमाथि सामान्य छलफल भएको थियो । सम्मेलनमा प्रधानसेनापति छत्रमानसिंह गुरुङ, रथीद्वय गौरवशमशेर जवरा र रथी नेपालभूषण चन्द, पूर्व, मध्य, उपत्यका, पश्चिम, मध्पश्चिम र सुदूरपश्चिम पृतनापतिहरु क्रमशः रामकृष्ण अधिकारी, राजेन्द्र क्षेत्री, महेशविक्रम कार्की, भिक्टोरशमशेर जवरा, प्रदीपविक्रम राणा, रमेश विष्ट र विभागीय प्रमुखहरु सहभागी छन् । माओवादी लडाकुलाई अकितम मेजर पद दिने भनी प्रधानसेनापति छत्रमानसिंह गुरुङले प्रधानमन्त्रीलाई बुझाएको समायोजन प्रस्ताव परिमार्जन नगरे नेपाली सेना विघटनको संघारमा पुग्ने भन्दै नेपाली सेनाका पृतनापतिहरुले सचेत गराएका छन् ।
पृतनापतिहरुले सम्मेलनको पहिलो दिन बिहीबार आ-आफ्ना क्षेत्रको वस्तुस्थिति तथा सुरक्षा अवस्थाबारे रिपोर्ट गरेका थिए । उनीहरुले सेनाको स्थापित मापदण्डविपरीत लडाकु समायोजन नगर्न नेतृत्वलाई सुझाव दिएका थिए । स्रोतका अनुसार प्रस्तावमा उल्लेख गरिएको लडाकुलाई मेजरसम्मको पद दिने विषयमा भने पृतनापतिहरु सकारात्मक देखिएका थिए ।
सम्मेलनमा आज पृतनापतिहरुले आफू मातहतका युनिटहरुले गरेका विकास निर्माण तथा दैवी प्रकोप नियन्त्रणमा पुर्याएको सहयोगका सम्बन्धमा जानकारी गराउने कार्यक्रम रहेको मुख्यालय स्रोतले जनाएको छ ।