होली" मा नचिनेको युवतीलाई लक्षित गरि लोला हानेमा सार्वजनिक मुद्दा लगाइने
News, राष्ट्रिय समाचार 8:30 PM
काठमाडौं, फाल्गुन २१ - होली नजिकिदै गर्दा लोला हान्न तम्तयार भएर बसेकाहरु होसियार, उपत्यकाको सहरमा सादा पोशाकका प्रहरी घुमिरहेका छन् र लोला हानेको देखे गिरफ्तार गरेर तिनले सार्वजानिक अपराध अन्तर्गत मुद्दा चलाउने छन् । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रहरी होलीमा हुने विकृति रोक्न तयार भएर बसेको छ । विशेषगरी युवती लक्षित गरी लोला हान्नेहरुलाई प्रहरीले निगरानी गर्नेछ । सामान्य युवती ठानेर लोला हान्नेहरु प्रहरीको फन्दामा पर्न सक्नेछन् ।
होलीमा हुने विकृति रोक्न महानगरीय प्रहरी परिसर काठमाडौंले मातहतको बृत, प्रभाग र पोष्टलाई आफनो क्षेत्रका व्यापारी, बुद्धिजिवी, संघ संस्था, क्लवसंग सहकार्य गरी होलीलाई मर्यादित बनाउन निर्देशन दिएको छ । भक्तपुर र ललितपुरले स्थानीय तहमा सचेतना जगाउने काम गरिरहेका छन् । तीनै वटा जिल्लाले विकृति रोक्न सादा पोशाकका प्रहरी परिचालन गरेको जनाएका छन् । समस्या परे प्रहरीलाई खबर गर्न पनि उनीहरुले सर्बसाधारणलाई आग्रह गरेका छन् ।
'स्थानीयसंग सहकार्य र समन्वय गरी मर्यादित बनाउन निर्देशन दिएको छु,' काठमाडौंका एसपी राजेन्द्र श्रेष्ठले भने, 'लोला हान्ने र विक्री गर्ने दुवैलाई नियन्त्रणमा लिन भनेको छु । हामीले काम सुरु गरिसकेका छौं ।' जरबजस्ती रुपमा लोला हान्ने र रङ दले नियन्त्रणमा लिएर सार्वजनिक मुद्धा चलाउने उनले बताए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक नारायण सिंह खड्काले विद्यालय तहका विद्यार्थीलाई सचेत गराएको, पर्चा पम्प्लेट बाड्ने तयारी भएको र सार्वजानिक चोकमा नेपाल तथा नेवारी भाषामा सचेतनामुलक अडिो बजाइएको बताए । 'होलीमा हुने बिकृति रोक्न सादा पोशाकका प्रहरी परिचालन गरिएको छ', उनले भने, 'जरबजस्ती पानी छयाप्ने, लोला हान्ने, रंग दल्ने गरेको पाइए नजिकको प्रहरी कार्यालयमा उजुरी गर्नर्स् । प्रहरीले दोषीलाई समात्छ ।' पर्वको नाममा सर्बसाधारण र बटुवालाई दुख दिनु सार्वजानिक अपराध भएकाले त्यही अनुसार कारबाही हुने उनले जनाए ।
विकृति रोक्न परिसर मातहतको बृत, प्रभाग र पोष्टको कार्यक्षेत्रमा पर्ने विद्यालयमा सचेतना कार्यक्रम थालेको छ । सभ्य रुपमा मनाउन र कसैलाई दुःख नदिन भन्दै विद्यार्थीलाई आग्रह गरेको खडकाले बताए । जिल्लाका दुई नगर भक्तपुर, मध्यपुर र १६ वटै गाबिस कार्यालयमा प्रचार प्रसार भइरहेको प्रहरीले जनाएको छ । खडकाले भने,'अरुको इच्छा विपरीत जवरजस्ती चन्दा माग्ने, लोलाले हान्ने, अविर ईनामेल एवं मोविल जस्ता रसायनिक पदार्थहरु दलिदिने, मादक पदार्थ सेवन गरी होहल्ला तथा झैझगडा गर्ने जस्ता गलत क्रियाकलाप नगराउन आग्रह गर्दछौ ।'
ललितपुर परिसरका प्रमुख एसपी भोगबहादुर थापाले आफन्त र साथीभाइवीच सुरक्षित होली मनाउन आग्रह गरे । 'अरुलाई दुख दिएर रमाइलो मान्नु भएन', उनले भने, 'अभिभावकले आफ्ना केटाकेटीलाई लोला हान्नु हुन्न भनेर सम्झाउनु पर्यो । शिक्षकले विद्यार्थीलाई सम्झाउनु पर्यो । आफू सुरक्षित र सचेत हुने हो भने आधा विकृति घट्छ । अराजकहरुलाई सुरक्षा निकायले कारबाही गर्छ ।' युवतीलाई लक्षित गरी लोला हान्ने गरेकोले महिला प्रहरी पनि सादा पोशाकम परिचालन गरिएको छ । रमाइलो गर्ने बहानामा खतरा ननिम्त्याउन उनले सबैलाई आग्रह गरे ।