युवालाई व्यावसायिक तालिम दिने तयारी
News, खेलकुद 8:31 PM
युवा तथा खेलकुद मन्त्रालयले युवाहरूलाई केन्दि्रत गरेर रोजगारीका अवसरहरू सिर्जना गर्न व्यावसायिक तालिम सञ्चालन गर्ने भएको छ ।
रोजगारीको अवसर बढाउँदै देश विकासमा क्रियाशिल बनाउने उद्देश्यका साथ सुरु गर्न लागिएको यस्तो खालको कार्यक्रममा पहिलोचरणका दुई हजार युवालाई समावेश गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सह-प्रवक्ता सूर्यप्रसाद शर्माले दिएको जानकारीअनुसार पहिलोचरणमा होटल, हस्तकला र मूर्तिकलाको तालिम दिइने छ ।
तालिममा सहभागी युवालाई मासिक रु दुई हजारदेखि रु पाँच हजारसम्म भत्ता उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । होटल एसोसिएसन अफ नेपाल -हान), उद्योग वाणिज्य सङ्घ र साना तथा मझौला उद्योगी-व्यवसायीले तालिमको संयोजन गर्ने सहप्रवक्ता शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार ६ महिनादेखि एक वर्षसम्म सञ्चालन गरिने तालिममा समावेश हुने युवाको छनोटका लागि भौगोलिक क्षेत्र र शैक्षिक योग्यतालाई विशेष ध्यान दिइने छ । वेरोजगार अवस्थामा रहेका १६ वर्षदेखि ४० वर्षसम्मका युवालाई तालिममा समावेश गरिने छ । रासस