राज्यमन्त्रीका पिए 'घुस लिँदालिँदै' पक्राउ
News, राष्ट्रिय समाचार 1:24 AM

काठमाडौं, फागुन १८- वन राज्यमन्त्री लक्ष्मण मेहताका स्वकीय सचिव नागेन्द्रप्रसाद यादव ५० हजार रुपैयाँ 'घुस लिँदालिँदै' बुधबार दिउँसो पक्राउ परेका छन्। रारा राष्ट्रिय निकुञ्जका लागि २०३३ सालमा सरकारले अधिग्रहण गरेको जग्गाबापतको मुआब्जामा भाग खोजेपछि यादव फन्दामा परेका हुन्। प्रतिपरिवार ३ हजार ५ सय रुपैयाँ दिने भएमात्रै फाइल अगाडि बढाउने यादवले बताएपछि मुगुबाट राजधानी आएका पीडितहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका थिए।
वन मन्त्रालयका प्रवक्ता रामप्रसाद लम्सालका अनुसार मुगु सेरी-२ स्थित ७७ परिवारको जग्गाबापत अर्थ मन्त्रालयले ३२ लाख ४९ हजार निकासा गरेको थियो।
अख्तियारको प्रहरी महाशाखाका डिएसपी अर्जुन चन्द र लालमणि आचार्यको टोलीले यादवलाई हनुमानथानस्थित पिस प्वाइन्ट रेस्टुरेन्टबाट रंगेहात समातेको हो।
मुगुका बासिन्दाले अख्तियारमा गुनासो गरेपछि यादवलाई जालमा पारेको डिएसपी आचार्यले बताए। सिरहा भगवतीपुरका यादव पक्राउ परेपछि एकछिन बेहोस भएका थिए। 'म सोझो मान्छे, चियापानीका लागि रेस्टुरेन्ट आएको हुँ,' उनले प्रहरीसँग भने।
वन मन्त्रालय स्रोतका अनुसार मुआब्जा रकमको फाइल सिधै वनमन्त्रीकहाँ जानुपर्ने भए पनि माघ १७ गते तत्कालीन सचिव केशवप्रसाद भट्टराईले राज्यमन्त्रीकहाँ पठाएका थिए। राज्यमन्त्रीले असाध्यै किचकिच गरेपछि फाइल पठाएको स्रोतको दाबी छ।
रेस्टुरेन्ट जानुअघि यादव सिंहदरबार पसेको प्रहरीले जनाएको छ। उनी पक्राउ पर्दा राज्यमन्त्री महतो मन्त्रालयमै थिए। पक्राउको केही समयपछि कसैलाई नभेट्ने बताउँदै महतो बाहिरिए। उनले घटनाबारे बुझिरहेको बताएका छन्। सिरहा-१ बाट प्रत्यक्ष निर्वाचित उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मा छन्। वनमन्त्री मोहम्मद वकिल मुसलमान भने लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमणमा छन्।
अख्तियारका प्रवक्ता ईश्वरी पौडेलका अनुसार यादवमाथि अनुसन्धानपछि सजाय तोकिने छ। 'उनले आफैं कबुल गर्छन् कि अरूको आदेशमा गरेको भन्छन्, त्यसमै उनको सजाय निर्भर हुन्छ,' पौडेलले भने। भ्रष्टाचार निवारण ऐनअनुसार घुस लिँदालिँदै पक्राउ परेको प्रमाणित भए ४ महिना कैद र बिगोबराबर जरिवाना हुन्छ।