सचिव किशोर थापा निकै तनावमा परेका छन् ।
News, राष्ट्रिय समाचार 8:38 PM
४ चैत, शिक्षामन्त्री दिनानाथ शर्माको अनुचित दबाबाट शिक्षा सचिव किशोर थापा निकै तनावमा परेका छन् । मन्त्रीकै कारण सचिव थापाले राजिनामा दिने घोषणा समेत गरेका छन् ।
शिक्षामन्त्री दिनानाथ शर्माले सचिव थापालाई बाध्यात्मक रुपमा काम गर्न दबाब दिँदै आएका छन् । मन्त्रीको दबाबमा अनुचित काम गर्नुपरेको भन्दै सचिव थापाले राजिनामा दिने घोषणा गर्दै शुक्रबारबाटै विदामा बसेका छन् ।
शिक्षा मन्त्रालयमा भएको कर्मचारी सरुवा, शिक्षकका पेसागत संस्थासँग भएको सम्झौताका विषयमा सचिव थापाले असहमति जनाउँदै आएका थिए । श्रोतका अनुसार सचिव थापाले तत्काल कर्मचारीलाई सरुवा गर्न नहुने अडान लिएका हुन् । तर मन्त्रीको निर्देशनपछि कर्मचारी सरुवा गरिएको थियो ।
मन्त्री शर्मा र सचिव थापाबीच विगत एक महिनादेखि सरुवाका विषयमा चर्को विवाद भएको थियो । सचिव थापाले मुख्य सचिवलाई भेटेर मन्त्रीको दबाबका कारण काम गर्न नसक्ने अवस्था रहेकोले राजिनामा दिने जानकारी गराइसकेको आजको राजधानी दैनिकले छापेको छ ।