बन्दको विरोधमा विद्यार्थीको प्रदर्शन
News, राष्ट्रिय समाचार 1:57 AM
फागुन २२- लगातारको बन्द हड्तालले पढाई अस्तव्यस्त बनेपछि विद्यार्थी विरोधमा उत्रिन थालेका छन्। सोमबार झापा धुलाबारीको एउटा स्कुलका सयौं विद्यार्थीले सडकमा ओर्लेरै पढ्ने वातावरण नबिथोल्न माग गरेका छन्। स्थानीय फाइभस्टार अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीले शैक्षिक संस्था अवरोधको विरोधमा प्रदर्शन गरेका हुन्। विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्दै उनीहरुले मुखमा सेतो पट्टी बाँधेर मौन जुलुस गरेका थिए। 'हामीलाई पढ्न देऊ' भन्ने प्लेकार्ड बोकेका उनीहरुलाई अभिभावक र शिक्षकहरुले पनि साथ दिएका थिए।विभिन्न संघ संगठन तथा दलहरुले आयोजना गर्ने बन्दले जिल्लाको शैक्षिक क्षेत्र नराम्ररी प्रभावित छ। एक साता अघि शुरु भएको शिक्षक आन्दोलनले चार दिनसम्म विद्यालय ठप्प रह्यो। लगत्तै ब्राह्मण समाजको बन्दले पनि असर गरेको थियो। त्यसमा माओवादीका पूर्व लडाकुहरुको बन्द पनि थपिएको छ। आफ्नै पार्टीसँग अधिकार माग्न र बहिगर्मनका बेला भनिएको 'अयोग्य' को बिल्ला फिर्ता गराउन पूर्व लडाकुले आइतबार देखि झापा ठप्प पारेका छन्। बजार, कलकारखाना र यातायात ठप्प भएको बन्दको असर शैक्षिक क्षेत्रमा पनि परेको छ।
