आगलागीमा परेका मृतकका आफन्तले शव बुझ्न मानेनन् I
News, राष्ट्रिय समाचार 8:19 AM
फागुन २६,कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा फागुन २० गते राति भएको आगलागीमा परी मृत्यु भएका मृतकका आफन्तले अझै शव बुझ्न मानेका छैनन् । मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग गरेपछि हप्ता दिनसम्म पनि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जबाट शव उठ्न नसकेको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति र मृतकका आफन्तबीच क्षतिपूर्तिका बारेमा पटकपटक भएको द्विपक्षीय वार्तामा मृतकका आफन्तले राज्यले उचित क्षतिपूर्तिको व्यवस्था नगरेसम्म शव नउठाउने बताउँदै आएका छन् । मृतक हीराबहादुर पुनका भाइ वेगम पुनले राज्यले उचित क्षतिपूर्तिको व्यवस्था नगरेसम्म शव नउठाउने बताउनुभयो ।
मृतकका आफन्तलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनका लागि कृषि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा समितिले सिफारिस गरिसकेको र काम प्रक्रियामा गइसकेको बताउँदै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक अर्जुन अर्यालले शव उठाउन आग्रह गर्नुभयो ।
आगलागीमा परी घाइते भएकालाई सरकारले उपचार खर्च नबेहोरेको खण्डमा समितिले बेहोर्ने र आगलागी भएको भवनको जाँचबुझका लागि उच्चस्तरीय जाँचबुझ समिति गठन गर्न सरकारलाई सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।
आफन्तको मृत्यु भएको आज हप्ता दिन बितिसक्दा पनि राज्यले क्षतिपूर्तिका लागि कुनै चासो नदेखाएको भन्दै यसरी नै बेवास्था गरिए आन्दोलनका कार्यक्रमसहित सडकमा उत्रने मृतकका आफ्न्तले बताएका छन्