प्रधानमन्त्रीसहति प्रमुख दलका शीर्ष नेता लुम्बिनी जाँदै
News, राष्ट्रिय समाचार 9:53 PM
१८ फागुन, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित प्रमुख दलका शीर्ष नेता आज लुम्बिनी जाँदैछन् । आजबाट सुरु हुन लागेको ‘सगरमाथा शन्ति यात्रा-२०१२’ नामक एक कार्यक्रममा सहभागी हुने सिलसिलामा नेताहरु त्यसतर्फ जान लागेका हुन् ।
माओवादी केन्द्रीय सदस्य कृष्ण केसीको अगुवाइमा सुरु हुन लागेको अभियान उद्घाटनका समारोहमा सहभागी हुन प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शुसील कोइराला सहभागी हुनुहुनेछ । आफूहरुले एमाले अध्यक्ष झलनाथ खनाललाई पनि निमन्त्रणा गरे पनि आसन्न राष्ट्रिय प्रतिनिधि परिषद् भेलाको तयारीका लागि बस्ने स्थायी समिति बैठकमा बस्नुपर्ने भएकाले आउन नभ्याउने जानकारी आएको अभियान संयोजक कृष्ण केसीले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
केसीका अनुसार कार्यक्रममा दिवंगत नेताहरु पुष्पलाल श्रेष्ठ, गिरिजाप्रसाद कोइराला र मदन भण्डारीलाई सम्मान गरिने छ । यस्तै माओवादी अध्यक्ष प्रचण्डलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रमको औपचारिक सुरुआत आजदेखि भए पनि टोली आगामी चैत १६ गते काठमाडौँबाट सगरमाथाका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

टोलीमा कृष्ण केसी, माओवादी लडाकुका डिजिभन सहायक कमाण्डर युवराज दुलाल, बि्रगेड कमाण्डर सरल सहयात्री पौडेल, माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहाल, फोटो पत्रकार दिनेश श्रेष्ठ, पूर्वविद्यार्थी नेता शिव डाँगी, अलिख क्रन्तिकारीकी केन्द्रीय सदस्यद्वय बिना मगर र अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रीय सदस्य महेश्वर फुयाँललगायत ११ जनाको टोली सहभागी हुनेछ । टोलीको ६६ दिनमा सगरमाथाको आरोहण गरी काठमाडौँ र्फकने योजना छ ।