मुक्तिनाथको दर्शन गर्न हिँडेका यात्रीको होटलमा नै मृत्यु
News, राष्ट्रिय समाचार 3:26 AM

चैत ६ । मुक्तिनाथको दर्शन गर्न हिँडेका काठमाडौँ डिल्लीबजार–३३ बस्ने ऋषिराज सुवेदीको म्याग्दी जिल्ला सदरमुकाम बेनीमा रहेको दीपशिखा होटलमा सुतेकै अवस्थामा मृत्यु भएको छ ।
गत शनिबार पोखराबाट बेनी आएका ६४ वर्षीय सुवेदी अस्वस्थ भएकाले थप एक दिन आराम गर्छु भन्दै त्यहीँ बस्नुभएको थियो ।
अस्वस्थताका कारण आइतबार साँझ खान नखाई दोस्रो तलामा सुतेका सुवेदीलाई आज बिहान मृत अवस्थामा फेला पारेको सो होटलका सञ्चालक धु्रवबम मल्लले जानकारी दिनुभयो ।
साथमा रहेको औषधिका आधारमा बिरामी भएर नै सुवेदीको मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक प्रेम थापाले बताउनुभयो ।
यस्तै सुवेदीको साथमा रहेको नागरिकताका आधारमा आफन्तलाई टेलिफोन गरी जानकारी गराएको प्रहरी सहायक निरीक्षक तेजिन्द्र सेनले स्पष्ट पार्नुभयो ।
प्रहरीका अनुसार उहाँको घरपरिवार अमेरिकामा बस्दै आएको छ । मृतक सुवेदीको साथमा नेपाली नागरिकता, सात हजार नेपाली र पाँच हजार ३०० भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकरी दिनुभयो । source: saharasansar