तिब्बती शरणार्थीबाट करोडौँ उठाउँदै गच्छदार
News, राष्ट्रिय समाचार 7:41 PM
२७ फागुन,उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले तिब्बती शरणार्थीबाट करोडौँ रकम असुल्न थालेका छन् । तिब्बती शरणार्थीहरुलाई परिचयपत्र बनाइदिनका लागि उनी १ करोड ८० लाख रकम हात पार्नेगरी शरणार्थी परिचयपत्र बनाउन सक्रिय भएका आजको जनदिशा दैनिकले छापेको छ ।
गृहमन्त्रालयको उच्च श्रोतका अनुसार गृहमन्त्री गच्छदार र नेपालस्थित दलाई लामाका प्रतिनिधि थिन्ले लामा, एमाले सभाषद लारक्याल लामाका बीचमा लाजिम्पाटस्थित ग्याङ्जुङ होटलमा एक हप्ताअघि भएको वार्तापछि उनी शरणार्थी परिचयपत्र बनाउन लागिपरेका छन् ।
हाल नेपालमा २० हजार तिब्बती शरणार्थी बस्दै आएका छन् । ती मध्ये १४ हजारको मात्र परिचय पत्र छ । परिचयपत्र नभएका शरणार्थीबाट प्रत्येकसँग ४ हजारका दरले रकम उठाएर लामाले गृहमन्त्री गच्छदारलाई रकम बुझाउने सहमति भएको श्रोतले बताएको छ । तर परिचयपत्रका लागि मोटो रकम तिर्नु परेपछि शरणार्थीहरु भने समस्यामा परेका छन् । एकैपरिवारका ६ जनासम्मको परिचयपत्र नभएको बताइएको छ ।
सुरुमा गच्छदारले लामासँग आफ्नो पार्टी चलाउन ४ करोड मागेका थिए । तर वार्तापछि १ करोड ८० लाखमा कुरा मिलेको श्रोतले जनाएको छ ।