प्रधानमन्त्रीद्वारा निर्देशन कालिमाटी आगलागी पीडितलाई क्षतिपूर्ति दिइने
News, राष्ट्रिय समाचार 3:31 AM
फाल्गुन २१ - सरकारले कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा शनिबार राति भएको आगलागीका पीडितलाई क्षतिपूर्ति दिने भएको छ ।उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगलागी पीडितलाई उचित क्षतिपूर्ति दिने जानकारी दिए । ‘क्षति विवरण मूल्यांकन समितिको प्रतिवेदन आएपछि उचित क्षतिपूर्ति सरकारले दिन्छ,’ घटनास्थल निरीक्षणपछि उनले भने, ‘घाइतेको उपचारको व्यवस्था सरकारले मिलाइसकेको छ ।’आगलागीमा एकै परिवारका चारजना ५२ वर्षीय हीराबहादुर पुन, ११ वर्षीय निराजन पुन, १६ वर्षीया शान्ता पुन र ११ वर्षीया निरा पुनको मृत्यु भएको छ भने अन्य दुईजनाको नाम खुल्न सकेको छैन ।गृहमन्त्री गच्छदारले सोमबारसम्ममा कालिमाटी फलफूल तथा तरकारी बजार सुचारु गर्न नेपाली सेना, सशस्त्र र जनपद प्रहरीले युद्धस्तरमा काम गरिरहेको जानकारी दिए ।
यसैबीच कृषि तथा सहकारीमन्त्री नन्दनकुमार दत्तले घटनाको यथार्थ पत्ता लगाउन छिट्टै छानबिन समिति गठन गरिने जानकारी दिएका छन् । उनले घटनाको छानबिन प्रतिवेदन आएपछि पीडित पक्ष तथा व्यवसायीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पनि घटनास्थलको निरीक्षणपछि दुःख व्यक्त गर्दै आफूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएको बताए । प्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार बिहानै निर्देशन दिएपछि गृहमन्त्री गच्छदार र पौडेल घटनास्थल गएका थिए ।
तरकारी बजारमा शनिबार राति बिजुली सट् भई लागेको आगलागी बिहानमात्र नियन्त्रणमा आएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा मध्यरातदेखिको निरन्तर प्रयासपछि बिहान ८ बजेपछि आगो नियन्त्रणमा लिइएको हो ।करिब ३ सयको हाराहारीमा व्यापारिक स्टल रहेको तरकारी बजारमा आगलागीबाट करिब आठ करोड बराबरको तरकारीजन्य सामग्री जलेर क्षति भएको अनुमान गरिएको छ ।