चैत १५ गतेअघि विद्यार्थी भर्ना गर्न नपाइने
News, राष्ट्रिय समाचार 9:07 AM
२१ फागुन, भक्तपुर । विद्यालयहृरुले अव चैत १५ गतेअघि विद्यार्थी भर्ना गर्न तथा प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा विभागका निर्देशक तथा शिक्षा मन्त्रालयका सहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा गठित विद्यालय सञ्चालनसम्बन्धी मापदण्ड निर्धारण कार्यदलले आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कार्यदलको निर्णयले विद्यार्थी भर्ना गर्न रोक लगाएको कार्यदलका सदस्य एवम् अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले बताउनुभयो । विद्यालयले नियमविपरीत भर्ना खोलेर विद्यार्थीको अन्तिम परीक्षा नसकिँदै फाराम भरी भर्ना लिन थालेपछि सरकारले गठन गरेको कार्यदलले मुलुकभरका कुनै पनि विद्यालयले चैत १५ गतेभन्दा अघि विद्यार्थी भर्ना गर्न नपाउने नियम लागू गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी, विद्यालयले अबदेखि सिट नभएको यातायातका साधन, तीनपाङ्ग्रे यातायातका साधनमा विद्यार्थी बोक्न नपाइने र मोटरसाइकलमा विद्यार्थी बोक्दा विद्यार्थीलाई अनिवार्यरुपमा हेल्मेट लगाउनुपर्ने भएको छ । तीनपाङ्ग्रे सवारी साधनमा विद्यार्थी ओसारेमा, सिट नभएको सवारी साधनमा विद्यार्थी ओसारेमा र मोटरसाइकलमा विद्यार्थी लैजादा हेल्मेट नलगाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।
यसका लागि विद्यालय र प्रत्येक जिल्लाका जिल्ला शिक्षा कार्यालय समेतलाई यसबारे जानकारी गराई भर्ना रोक्न र यस प्रकारका सवारी साधनमा विद्यार्थी ओसार्न नदिन परिपत्र गर्नसमेत निर्देशन दिएको छ । रासस