थप दुइ बायोग्यास आयोजना कार्वन व्यापारमा दर्ता
News, राष्ट्रिय समाचार 11:31 AM

२१ फागुन । नेपालका थप दुइ वायोग्याँस आयोजना राष्ट्रसंघको स्वच्छ विकाश संयन्त्रमा दर्ता भएका छन् । राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धि ढाँचाको स्वच्छ विकाश संयन्त्र कार्यकारी बोर्डले थप दुइ वायोग्यास प्लान्ट दर्ता गरेसँगै स्वच्छ विकाश संयन्त्रमा दर्ता भएका नेपालका स्वच्छ उर्जा आयोजनाको संख्या ५ पुगेको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले जनाएको छ । नेपालले यस अघि दुईवटा बायोग्याँस आयोजना र एक लघुजलविद्युुत आयोजनाहरुलाई स्वच्छ विकास संयन्त्रमा दर्ता गरिसकेको छ ।
पछिल्लोपटक दर्ता गरिएको आयोजनामा सन् २००५ अपि्रल देखि २००७ जुलाई जुलाई सम्मको अवधिमा निर्माण भएका ४० हजार ६ सय २ वटा बायोग्यँास प्लान्ट रहेका केन्द्रको भनाइ छ । जसमा बायोग्यासको तेश्रो परियोजनाका २० हजार २ सय ५४ र चौथो परियोजनाका २० हजार ३ सय ४८ वटा बायोग्यास प्लान्ट छन् । यी बायोग्यास प्लान्टबाट वर्षमा १ लाख १३ हजार टन कार्वन व्यापार हुने केन्द्रले जानकारी दिएको छ ।यसैबीच अर्को बायोग्याँस आयोजना पनि प्रमाणिकरणको अन्तिम चरणमा रहेको तथा सुधारिएको चुलो र सुधारिएको पानी घट्टका एक/एक आयोजना पनि प्रमाणिकरणको क्रममा रहेका केन्द्रले जनाएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्घन केन्द्रले यस अघि दर्ता गरिएका दुईवटा बायोग्याँस आयोजनाहरु मार्फत कार्वन व्यापार गरी झण्डै १७ करोड रुपैंया प्राप्त गरिसकेको छ ।