आर्मी स्पोर्टस मिट आजबाट
News, खेलकुद 9:44 PM
फागुन २६ नेपाली सेनाको आयोजनामा शुक्रबारदेखि लगनखेलमा पहिलो दक्षिण एसियाली स्पोर्टस मिट (आर्मी साग) हुने भएको छ। ६ खेल समावेश आर्मी सागमा नेपालसहित ५ देशका सेनाले भाग लिएका छन्। दक्षिण एसियाली राष्ट्रका सेनाको सबभन्दा ठूलो खेल महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका राष्ट्रिय सेनाले भाग लिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। आर्मी सागमा एथलेटिक्स, फुटबल, भलिबल, बक्सिङ, तेक्वान्दो र ब्याडमिन्टन खेल समावेश छन्। पुरुषतर्फ मात्र कुल १७ स्वर्णलाई प्रतिस्पर्धा हुने महोत्सवमा ब्याडमिन्टनतर्फ पुरुष एकल विधा मात्र समावेश छ भने तेक्वान्दोमा ५८, ६८, ७४ र ८० केजी तौलसमूह राखिएका छन्। यसैगरी बक्सिङमा ६०, ६४, ६९ र ७५ केजी तौल छन् भने एथलेटिक्समा १५ सय र ५ हजार मिटर दौड, हाइजम्प, लङजम्प, डिस्कस थ्रो र ह्यामर थ्रो समावेश छन्। नेपाली सेनाले लगनखेलस्थित राजदल गणमा निर्माण गरेको सुविधा सम्पन्न कभर्ड हल, रंगशाला र एथलेटिक्स ट्रयाकमा प्रतियोगिता हुने सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले जानकारी गराए। फुटबलमा नेपाल, भारत र श्रीलंकाको मात्र सहभागिता छ भने भलिबल, बक्सिङ र एथलेटिक्समा सबै देशको सहभागिता छ। ब्याडमिन्टनमा नेपाल र श्रीलंकाका खेलाडी मात्र सहभागी छन् भने तेक्वान्दोमा पाकिस्तानको सहभागिता छैन। व्यक्तिगत खेल नकआउट प्रणालीमा हुनेछन् भने फुटबल र भलिबल लिगकम नकआउटमा हुने जानकारी गराइयो। दुुवै खेलमा सुरुमा राउन्ड रोबिन लिग गराइने र शीर्ष दुई टोलीबीच फाइनल स्पर्धा गराइने भएको छ।